बैतडी: सुदूरपश्चिमका धेरै गीत संगितकारहरूले नचिनेका र नखोजेका प्रतिभाहरू गोपालराम दमाई। अहिले नाम चलेका धेरै गायक कलाकार नजन्मिदै गोपालराम सर रेडियो नेपाल पुगि सकेका थिए। बैतडीको तल्लो स्वराडबाट रेडियो नेपाल सिहदरबारसम्म पुग्नु त्यति सजिलो थिएन। त्यो भन्दा पनि झनै असहज उतिबेलाको उनको शैक्षिक यात्रा थियो ।
बैतडी जिल्लाको हालको मेलौली नगरपालिका वार्ड न० १, देही गाउँको सुनगडा देनोला निवासी तुलसी दमाई र जगदिश (जग्वा) दमाईका २ छोराहरु र १ छोरी मध्ये जेष्ठ सुपुत्र गोपालरामको जन्म बि स २००२ सालमा भयेको हो। उनी बि स २००४ मा खुलेको मणिलेक हाइस्कुलबाट बि सं २०२१ मा हाइ स्कूल (एसएलसि) पास गरे पछी भारतको पिथौरागढमा मा रहेकोजिआइ सि तथा सरकारी पिजि कलेज तत्कालिन आगरा विश्वविद्यालय बाट अंग्रजी बिषयबाट बिए उत्तीर्ण गरेका थिए।
पढाइसंगै कृष्ण माध्यमिक विद्यालय पाटन बैतडीबाट शिक्षण पेशामा प्रबेश गरेका उनले अग्रेजी विषय शिक्षकका रूपमा लामो समयसम्म मणिलेक माध्यमिक विद्यालय, मेलौली बैतडीमा काम गरे। आफ्नो बिषय शिक्षणमा दखल भयेका उनले विद्यालयमै मात्र होइन जुनसुकै पनि बेला विद्यार्थीका समस्या समाधान गर्न तत्पर रहन्थे। शिक्षणकै क्रममा काठमाडौंबाट बि एड गरिरहेको बेला त्रिशुली बस दुर्घटना जेनतेन बाँच्न सफल उनको स्वास्थ्यमा भने निकै क्षति भयो। पेशागत रूपमा अब्बल शिक्षकका रूपमा चिनिएका उनले २०४० साल पछि काठमाडौंमा पिसकोरहरूलाई नेपाली भाषा प्रशिक्षण गर्ने अवसर पनि पाएका थिए।
अङ्ग्रेजी, हिन्दी, नेपाली लगायतका भाषाहरूमा राम्रो दखल भयेका उनको बिशेष रूची र खुबि भयेको क्षेत्र गीत संगित पनि थियो। तत्कालिन सामाजिक परिवेशमा सामाजिक संघर्षका क्षेत्रमा शिक्षा र प्रतिभाकै कारण उनी स्थापित र परिचित थिए। परम्परागत गीत संगितमा पारिवारिक प्रभाबका कारण उनको आधार बनेको थियो भने पढाइका सिलसिलामा पिथौरागढ बसाइबाट आधुनिक बाद्य हार्मोनियम तबला बादनमा अनौपचारिक रूपमै भये पनि सीप निखार्ने अबसर पायेका उनले स्थानीय आयोजनहरूमै आफ्ना प्रस्तुति राख्ने मौका पाउथे
बि स २०२७/२८ तिर दुर्गम गाउँठाउँमा शिक्षाको अवस्था अत्यन्तै कमजोर भयेको समयमा दलित समुदायको व्यक्तिले बिए पास गर्नु चुनौतीपुर्ण नै थियो। गाँउमै हाइस्कूल हुँदाहुँदै पनि हाइस्कूलको शिक्षा समेत धेरै कमैले मात्रै पुरा गर्दथे। उहाँमा भयेको विलक्षण प्रतिभा कै कारण गीत, सङ्गीत, अभिनय, नृत्य, हर्मोनियम, तबला तथा स्थानीय बाजाहरुका समेत मास्टर भयेकै कारण पनि धेरैले उहाँलाई गोपाल मास्टर भनेरै चिन्दथे। उनका समकालिन शिक्षकहरू हेमराज ओझा ,कालु चन्द, शिवदत्त भट्ट, गणेश दत्त भट्ट, बजिरसिह बिष्ट, गंगादत्त ओझा, दशरथ जोशी लगायतको बिचमा हुने ब्यङ्ग्यात्मक ठट्यौलीमा दिल खोलेर हास्ने र हँसाउने कुरा पनि उति बेलाका विद्यार्थीहरू अहिले पनि सम्झिन्छन।
गोपालराम सर आफैमा कवि र गीतकार पनि थिए। बि एड अध्ययनकै सिलसिलामा रेडियो नेपालको स्वर परिक्षा उत्तीर्ण गरेका उनले रेडियो नेपालमा थुप्रै गीतहरू गायेका भये पनि उनले आफैले स्वर र संगित भरेको पाटन राम्रो धान बालीले, बैतडी तोरीले बोलको गीत लामो समयसम्म प्रसारण भयेको पाइन्छ। २०३८ साल पुर्व नै गाइएको यो गीत लामो समय सम्म रेडियो नेपालले प्रसारण गर्ने गर्दथ्यो। उति बेला नै भयेको त्रिशुली बस दुर्घटनाबाट घाइते भये पछि रेडियो नेपालको गायन यात्राले निरन्तरता पाउन नसके पनि स्थानीय स्तरमा उनको प्रयास रोकिएका थिएनन। आफै गीत कविता रचना गरेर गाउने र संगित सिर्जना गर्ने काम उनी आफै गर्ने गर्दथे। गोपालराम सरका सिर्जनाहरू
केही यस्ता थिए!
सरस्वती बन्दना
बिणा मधुर मधुर स्वर बोल ,
सरस्वती ज्ञानको पर्दा खोल।
शान्त भै झनकर सुनाइ देउ,
जिवनको अन्धकार हटाइ देउ।
जगमग ज्योति मनमा जगाइ देउ,
अज्ञान लाई दुर भगाइ देउ।
राख सरण नीर अग्यानी ठानि,
पुजा गर्ने रीत न जानी।
२: पाटन राम्रो धान पाकेर, बैतडी तोरिले
जाने बेला माया लायो, नककलि मोरिले
पाटन राम्रो धान पाकेर, आहै बैतडी तोरीले––२
मेरो मायालाई––––––२
को बेलैमा माया लगाइ, आहै नक्कलि मोरीले––२
मेरो मायालाई–––––––२
पारी पाखा घाँस काटुँला, आहै सुसेली गीत गाउँला
मेरो मायालाई–––––२
मादल भिरी गीतै गाउँला, आहै सङसङै नाचुँला –२
मेरो मायालाई–––––२
रामचन्द्र सीकार गया, आहै इन्द्रपुरी बासऽ––२
मेरो मायालाई–––२
बादल फाटे घाम लाग्दछ, आहै दिल फाटे उदास–२
मेरो मायालाई––––––२
३: नजाउ तेसैइ सन्नानी तर्केर।
न बोले नि हेरि देउ फर्केर, मुसुक्कैइ हासेर
४: जुनि यसै बित्यो है साइली लाहुरै बसेर
जुनि यसै बित्यो साइली लाहुरै बसेर––––
यो चिठी भन्दा अरू के दिउ भन्दिनु
सम्झना आएको चिनु हेरी धुरूक्क रोइ दिनु।
हिमाल चुलि त्यो उच्चो डाँडो आकासै छुदैन।
एउटै सूर्य घाम तापिन्छ भेट किन हुदैन ।
तिमीलाई भेटन त्यो महाकाली चैतमा तरूँला।
भाग्यले भेट हुनेछ भने म आउँदै गरूँला।
जुनि यसै बित्यो साइली लाहुरै बसेर–––––
५: हिमालचुली त्यो उच्चो डाणो
आकास हुदैन एउटै सुर्य घाम तापिन्छ भेठ किन हुदैन। तिमिलाइ भेठन त्यो महाकाली चैत मा तरुला
भाग्य ले भेठ हुनेछ भने म आउदै गरुला ।
६: नबिर्स है नबिर्स है नेपाली। नेपाल आमालाइ।छडेके नजर लगाइ हेर । जन्मिएको ठाउँ लाई।
७: हे! प्याउली फुल फुल्ने बेला भैइ सक्यो
अब त पहिले पल्ट खेतमा हुने भैइ सक्यो
अब त घासको पातमा फुल्यौ प्याउली
घासकै पातमा ओइलाउछौ गासेर माया
तेइ घाँस सङ्ग घासइ मा बिलाउचौ।
कोइ छैन तिम्रो त्यो रङ्ग देखि सामुन्ने आइदिने
कोइ छैन त्यहाँ तिमिलाइ चुणि कानमा लाइदिने ।
छ लालुपाते पुजाको थाली मन्दिरमा सजाउनु
तिमिलाइ कसले चुडाल्व प्याउली कान मा लाउन।
फुल त तिमी फुल हौ प्याउली घासको भन्छ ररु
तिमिले फल्न न फुले झैँ हो त्यहाँ को चिन्च ररु
जुन फुल म रुचाउँछु तेइ फुल लाइ ढालि दिन्छ
जुन ठाँउमा बस्न खोजे उहीँ ठाँउले ढालि दिन्छ।
सुदूरपश्चिमको गीत संगितका धरोहर गोपालरामका सयौ गीत, नाटक, कविता लगायतका सिर्जना खोजिएकै छैनन्। न त उनलाई कसैले सम्झेका छन। यस्ता दर्जनौ गीतका सर्जक गोपालराम सर ६४ वर्षको उमेरमा बि स २०६४ भदौ २१, मा आफ्नै निवास मेलौलीमा निधन भएको थियो।
भाषा, साहित्य, गीत सङ्गीत प्रति अत्यन्तै रूची भयेका प्रतिभा उनले उतिबेला जुन वातावरण र अवसर पाउनु पर्दथ्यो उनी त्यस बाट बञ्चित रहे , उनको जीवनका पछिल्ला समयमै उनले बिदेशबाट नेपाल आइ काम गर्ने स्वयंसेवकन (पिस्कोर) लाइ नेपाली भाषा सिकौन्या प्रशिक्षक भयेर काम गर्ने मौका पाए पनि त्यसमा पनि आंशिक अवसर मात्रै पाए।उनकै प्रेरणाले गीत संगीत तिर प्रेरित भयेका कलाकारहरूले पनि बिर्सदै गये। उनले सुदूरपश्चिमलाई राष्ट्रिय मूलधारमा चिनाउन गरेको प्रयासलाई धेरै लेखकहरूले पनि खोजेका छैनन्। उनले आफ्ना गीतहरूमा यहाँका लय धुन रे शब्दनको सम्मिश्रण मात्रै गराएका होइनन कि यहाँको लोक साहित्य, संस्कृतिमा समेत जागरण ल्याउने काम गरेका थिए। सङसङै उनी एक राष्ट्रप्रेमी सर्जक पनि हुन। उनका गीतहरूमा हल्को मनोरञ्जन मात्रै होइन हाम्रो समाजका दुःख,पिडा रे वेदना पनि पोखिएका छन। सरल जीबन शैली, प्रष्ट वक्ता, उनी जहिले पनि आफ्ना बिद्यार्थीहरूलाई पढलाउँ , नाऽन केइ गरलाू भन्ने गर्दथे।उनको जीबनका पछिल्ला समयमा पुरानो चोटको असर प्यारालाइसिस का कारण आजिलैइ केइ गद्द्या थ्युूँ भण्या बिचार पुरा हुन सकेन। उनले रचना गरेका सिर्जनाहरू डायरिहरूमै कता हराए खोजि गर्नु पर्ने देखिन्छ। एउटा प्रतिभालाई गुमनाम रहन दिनु सरोकारवालाहरूको कमजोरी हो ,कमसे कम स्थानीय सरकार र खोजी कर्ताहरूले त न्याय दिन सक्नु पर्दछ। कैयौ गीत संगितको खोजी कर्ताहरूले रेडियो नेपालको म्युजिक लाइब्रेरी चहार्दा त उनको नाम याद गरि दिनु पर्दथ्यो। उहाँको योगदानको कदर गर्न कसेको स्थानीय सरोकारवालाहरूले र घर परिवारका सदस्यहरूले सोधखोज गर्न सहजिकरण गरि दिनु पर्छ, उहाँका अप्रकाशित कृतिहरू प्रकाशित हुनु पर्दछ। उनलाई सम्झिने उपायहरू धेरै छन्। खासगरि स्थानीय कलाकारहरूले उनका रचना खोजेर गायि दिए, उनको कर्मथलो मणिलेक माध्यमिक विद्यालयले सरस्वती बन्दना संगितबद्ध गरि विद्यालयको आधिकारिक प्रार्थना गीत बनाइ दिए, मेलौली नगरपालिकाले उनको नाममा कलाकार पुरस्कार घोषणा गरेर स्थानीय उत्कृष्ठ कलाकार सम्मान गर्ने परम्परा बसाइ दिए, स्थानीय अध्येतारखोजकर्ताहरूले उहाँको व्यक्तित्व र कृतित्व बारेमा खोजी गर्ने जस्ता कामहरू भयेमा उहाँको कदर र उहाँप्रतिको श्रद्धाञ्जलि हुने छ।
जगदीश ओझा
मेलौली-६ रातिखाली बैतडी। हाल महेन्द्रनगर।