नेपाली कांग्रेस बैतडीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उम्मेदवार चतुरबहादुर चन्दलाई जिताउन विभिन्न समितिहरू गठन गरेको छ। जिल्ला उपसभापति वीरबहादुर विष्टलाई मूल प्रचारप्रसार समिति संयोजक चयन गरेको छ।
विष्टको संयोजकत्वमा दुईहजार पाँच सय २५ सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो। यस्तै एकहजार २५ सदस्यीय ४ ओटा बहुपालिका प्रचारप्रसार समिति पनि चयन गरिएको छ।
यस्तै प्रत्येक पालिकामा पाँचसय पच्चीस सदस्यीय पालिका प्रचारप्रसार समिति पनि गठन गरिएको जिल्ला सचिव प्रेमबहादुर चन्दले जानकारी दिनुभयो। जिल्ला ८४ वटै वडामा १२५ सदस्यीय वडा प्रचारप्रसार समिति र आवश्यकताअनुसार टोल समिति पनि गठन गरिएको जनाएको छ।
यसका साथै जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्दलाई मुख्य सचिवालय र अनिल विष्टलाई सूचना प्रविधि विज्ञका रूपमा जिम्मेवारी दिइएको छ। नेपाली कांग्रेस बैतडीले आफ्ना उम्मेदवार चतुरबहादुर चन्दलाई जिताउन प्रचारप्रसारमा तिब्रता दिएको छ।