पश्चिम क्षेत्रका केही ठाउँमा वर्षा र हिमपात:पश्चिमी न्यून चापीय प्रणाली पूर्वतर्फ सर्दै

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पश्चिम क्षेत्रमा वर्षा र हिमपात भएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ । गएराति बैतडी र दार्चुलामा वर्षा तथा डोल्पा, हुम्ला क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिम क्षेत्रमा हिजो बेलुका प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणाली आज पूर्वतर्फ सर्दैछ । यसको असर पूर्वको कोशी र मधेश प्रदेशमा अलि कम देखिने सम्भावना छ । आज बिहान देशका धेरैजसो ठाउँमा बादल लाग्ने र काठमाण्डौ उपत्यकामा पनि आज हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।

आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भागमा पूर्ण बदलीसहित कतै–कतै मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही ठाउँमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशी प्रदेशका पहाडी भागका थोरै ठाँउ र कोशी प्रदेशको तराइको एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गएको शुक्रवार र शनिवार दुई दिन पश्चिम नेपालमा वर्षासँगै उच्च क्षेत्रमा हिमपात भएको थियो । वरिष्ठ मौसमविद् पौडेलका अनुसार भोलिदेखि मौसम सफा हुनेछ ।

Leave A Reply

Your email address will not be published.