बैतडीमा मोबाईल पत्रकारिता सम्बन्धी प्रशिक्षण सुरु

बैतडीमा पत्रकारहरूका लागि एआई (Artificial Intelligence) मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रम पत्रकारितालाई समयसापेक्ष, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत बहादुर साहले बताउनुभयो।

प्रशिक्षण कार्यक्रममा डडेल्धुरा, बझाङ, दार्चुला र बैतडी जिल्लाका ३५ जना क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ। प्रशिक्षणमा एआई प्रविधिको प्रयोग गरी समाचार संकलन, फोटो तथा भिडियो सम्पादन, मोबाइलमार्फत समाचार उत्पादन, डिजिटल प्लेटफर्ममा सामग्री प्रकाशनलगायतका विषयमा व्यवहारिक जानकारी दिइने प्रशिक्षक विकास कार्कीले जानकारी दिनुभयो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीले एआई सम्बन्धी तालिम आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले छिट्टै प्रेस रजिस्ट्रार गठन हुने, आम सञ्चार विधेयक पारित हुने प्रक्रियामा रहेको र पत्रकारिताको कुन पाटोमा सहयोग गर्दा अझ प्रभावकारी हुन्छ भन्ने विषयमा मन्त्रालयबाट आवश्यक बजेट व्यवस्थापन गर्न आफू तयार रहेको बताउनुभयो।

दूरदराजका जिल्लाबाट रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरूलाई दक्ष र प्रविधिमैत्री बनाउन यस्ता तालिमहरू आवश्यक रहेको अध्यक्ष साहको भनाइ छ। पछिल्लो समय पत्रकारितामा प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा यस्तो तालिम आयोजना गरिएको बताइएको छ।

नेपाल पत्रकार महासंघ बैतडी शाखाको आतिथ्यता रहेको उक्त कार्यक्रमको उद्घाटन सत्रमा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

मिति २०८२ साल माघ १५ र १६ गते संचालन हुने दुईदिने प्रशिक्षण कार्यक्रमबाट जिल्लाका पत्रकारहरू प्रविधिमैत्री पत्रकारितामा थप दक्ष बन्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.