डडेल्धुराको अजयमेरु गाउँपालिका–०६ राजुलमा होली कार्यक्रम हुने

बैतडी: डडेल्धुराको अजयमेरु गाउँपालिका–०६ राजुलमा यस वर्ष पनि सामूहिक रूपमा होली पर्व मनाइने भएको छ। विगतका वर्षहरूदेखि वडा कार्यालयको पहलमा हुँदै आएको होली कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको हो।

वडाध्यक्ष हरि सिह भण्डारीले दिएको जानकारी अनुसार यही फागुन १६ गते (दोस्रो द्वादशी) का दिन वडा कार्यालयको प्राङ्गणमा भव्य रूपमा होली खेलिनेछ। कार्यक्रममा वडा अन्तर्गत रहेका सम्पूर्ण होली समितिहरूको सहभागिता रहने जनाइएको छ।

होलीमा स्थानीय बासिन्दा, युवा क्लब, आमा समूह तथा विभिन्न सामाजिक संघ–संस्थाहरूलाई सहभागि हुन आग्रह गरिएको छ। सामूहिक रूपमा रंग अबिर खेल्दै आपसी सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विशेष तयारी गरिएको छ। सहभागीहरूलाई सभ्य र मर्यादित तरिकाले होली खेल्न, मदिरा सेवन नगर्न तथा सामाजिक सद्भाव कायम राख्न अनुरोध गरिएको छ।

वडाध्यक्ष भण्डारीका अनुसार, “होली हाम्रो सांस्कृतिक पहिचान र सामाजिक एकताको पर्व हो। सबैले मिलेर सभ्य र सुरक्षित रूपमा मनाउनुपर्छ।” कार्यक्रम बिहानदेखि नै सुरु हुने बताइएको छ। आयोजकले सम्पूर्ण वडा बासिन्दा तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई उत्साहपूर्वक होली मनाउन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.