यो परदेश हो‘
यहाँ थाक्नु अपराध जस्तै हो।
शरीर गलेको हुन्छ,
तर ड्युटी छुट्दैन।
मन भाँचिएको हुन्छ,
तर मुस्कान चाहिँ देखाउनै पर्छ।
बिरामी हुँदा ओछ्यान हुन्छ,
तर निधार छाम्ने हात हुँदैन।
पानी आफैँले खानुपर्छ,
औषधि आफैँले खोज्नुपर्छ।
फोनमा घर का सँग हाँसेर कुरा गरिन्छ,
“सबै ठिक छ” भनिन्छ।
तर सत्य के हो भने—
सबै ठिक हुँदैन।
सपनाको भारी काँधमा बोकेर
आफ्नो वर्तमान जलाइन्छ।
भविष्यको नाममा
आफ्नै स्वास्थ्य साटिन्छ।
यो परदेश हो—
जहाँ आँसु लुकाइन्छ,
दुखाइ दबाइन्छ,
र थकाइ‘
थकाइ त भन्नै पाइँदैन।
सागर बिष्ट
मेलौली नगरपालिका–०८, कोटिगाउँ, बैतडी!
हाल साउदी अरेबिया