मलाई अझै पनि त्यो दिन याद छ, जब मैले जीवनको एकदमै खतरनाक मोडमा उभिएर ठूलो निर्णय लिएको थिएँ—घर, परिवार र सबैलाई छोडेर विदेशिने निर्णय। त्यो बेला मेरी आमा बित्नुभएको जम्मा चार दिन मात्र भएको थियो। घर शोकमा डुबेको थियो, आमाको माया र उपस्थितिको कमी हरेक कुनामा महसुस भइरहेको थियो।
एक्लो भएँ भने निर्णय अझ कठिन हुने थियो, त्यसैले मैले ठूला बुवा, दाइ, जीवनसंगिनी र केही मेरा निकट हितैषीहरूसँग सल्लाह गरें। उनीहरूले हौसला दिए, धैर्य राख्न भन्नुभयो, अनि भविष्यका लागि साहस जुटाउन सल्लाह दिनुभयो। उनीहरूको साथले मन भित्रको डर कम गर्यो र अन्ततः साहस जुटेर अघि बढ्न सकें।
घरबाट निस्कँदा मन भारी थियो, आँसु रोक्न सक्दिनथेँ। तर मैले जानै पर्थ्यो, जीवन अघि बढाउनु पर्थ्यो। विदेशको यात्रा सजिलो छैन। हरेक दिन आमाको याद आउँछ, घरको याद आउँछ, तर उनीहरूको सल्लाह र माया, अनि आमाको आशीर्वादले मलाई हरेक कठिनाइ पार गर्न मद्दत गरिरहेको छ।
आज पनि कहिलेकाहीँ एक्लै बस्दा आँसु झर्छन्, तर मन भन्छ—“आमा, तपाईं टाढा हुनुहुन्छ, तर तपाईंको माया र आशीर्वाद सधैं मेरो साथमा छ। म जहाँ भए पनि तपाईंलाई गर्व लाग्ने मान्छे बन्ने प्रयास गरिरहेको छु।” जीवन कहिलेकाहीँ यस्ता कठिन परीक्षा दिन्छ, तर ती परीक्षा नै हामीलाई बलियो बनाउँछन्।
सागर सिह बिष्ट
मेलोली नगरपालिका–०८ कोटिगाउँ, बैतडी। हाल परदेश।