‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय

मेलौली न्यूज
असोज १७ सोमबार,२०७९

बडादशैंको आठौं दिन आज सोमबार बेलुका नेवार समुदायले ‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै छ ।

नेवारीमा ‘कुछी’ को अर्थ दुई माना हो भने ‘भ्वय’ को अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ ।

‘कुछी भ्वय’ खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा ९रक्ती०, बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी ९काँचो फर्सीका स–साना दुई थरी चाना०, अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।

नेवार समुदायमा जुठो परे पनि ‘कुछी भ्वय’ खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम ‘कुछी भ्वय’ रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम ‘कुलछी भ्वय’ हुन गएको र पछि अपभ्रंस भएर ‘कुछी भ्वय’ हुन गएको भनाइ रहेको छ ।

आजै सो समुदायले घरघरमा दशैंको मासु भित्र्याएका छन् । समुदायमा टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैंको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । – रासस

Leave A Reply

Your email address will not be published.