डडेल्धुरा – कार्यसम्पादन मूल्याङ्कनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो स्थानमा आएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०र८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।
आयोगले दिएको जानकारीअनुसार गन्यापधुरा गाउँपालिकाले ७४ दशमलव ७८ प्रतिशत अङ्क प्राप्त गर्दै कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशमै पहिलो भएको हो ।
कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरेरनगरेको, असार मसान्तभित्र बजेट पास गरेरनगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आयरव्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेरनगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेको लगायतका विषयमा मूल्याङ्कन गरेको थियो ।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरेरनगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्यालगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अङ्क भार दिएको हो ।