बैतडी ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा बैतडीको दोगडाकेदार २ मल्लाढिकमा रहेको रौलेश्वर मावि उत्कृष्ट भएको छ । एसईईमा सहभागी जिल्लाका अन्य सामुदायिक विद्यालयहरुभन्दा मावि मल्लाढिकको नतिजा उत्कृष्ट आएको हो ।
दोगडाकेदार गाउँपालिकाभरीमा पहिलो भएको मावि भएको छ भने जिल्ला भरीमा तेस्रो भएको छ ।
मल्लाढिकमा २५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २२ जना उत्तिर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको छ ।
सीमित स्रोत र साधनकाबीच पनि राम्रो नतिजा आएकोमा खुसी लागेको रौलेश्वर मावि मल्लाढिकका प्रधानाध्यापक दलबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,“ विद्यालयको सीमित स्रोधनकाबीच पनि राम्रो नतिजा आएको छ, यसमा विद्यालयपरिवार सबै खुसी छौं, उत्तिर्ण सबै विद्यार्थीलाई बधाई र उज्जवल भविष्यको कामना गर्दछौं ।”
दुर्गम र दोगडाकेदारका अन्य विद्यालयभन्दा स्रोत साधनले पछि रहेको मावि मल्लाढिकको उत्कृष्ट नतिजा आएकोमा बधाई दिदैं शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले अन्य विद्यालयले पनि सिको गर्नुपर्ने बताउनुभयो ।
मल्लाढिकले उत्कृष्ट नतिजा ल्याएकोमा स्थानीय जनप्रतिनिधि,बुद्धिजिवीलगायतले पनि बधाई दिएका छन् ।