बैतडी : डडेल्धुराको अजयमेरु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। खोपका सबै सूचांकहरु पूरा गरेको आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको हो।
पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पूर्ण प्रकृया पूरा गरिएको स्वास्थ्य शाखा प्रमुख गणेश पालले बताउनुभयो। १६ महिनादेखि २३ महिना सम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप पाएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको उहाले बताउनुभयो।
स्वास्थ्य शाखामार्फत दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि अजयमेरु गाउँपालिकाको सबै वडामा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेर अनुसार खोप पाए/नपाएको एकिन गरी वडा र पालिकाको पूर्ण खोप सुनिश्चितता गरिएको गाँउपालिकाले जनाएको छ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमका प्रमुख अतिथी जिल्ला समुन्वय प्रमुख गगन सिंह भण्डारी रहनु भएको थियो। यसैगरी कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेश भट्ट (विकास) गाउँपालिका उपाध्यक्ष बसन्ती पाल, विभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख गणेश पाल लगायत स्वास्थ्य चौकी प्रमुखहरु र विद्यलयका शिक्षिकाहरु उपस्थित भएका थियो।