भाषा विचार विनिमयको सशक्त माध्यम हो। भाषा मानवीय भावना, विचार र चेतनाको सम्प्रेषणको आधारभूत साधन हो। मानिसले आफ्ना अनुभूति, अनुभव, संघर्ष, प्रेम, आस्था र आकांक्षालाई शब्दमा ढालेर समाजसम्म पुर्याउँछ। त्यसैले भाषा केवल ध्वनि वा अक्षरको संयोजन होइनस यो सभ्यता, संस्कार र सामूहिक स्मृतिको जीवित अभिलेख हो।
सुदूरपश्चिम नेपालको पहाडी भूभागमा बोलिने डोटेली भाषा यही सामूहिक चेतनाको सशक्त स्वर हो। बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने बहुसंख्यक जनताको अभिव्यक्तिको प्रमुख माध्यम डोटेली भाषा हो। यस भूगोलबाट देश–विदेशमा बसाइँसराइ गरी गएका लाखौँ नागरिकहरूको आत्मीय पहिचान पनि यही भाषा हो।
नेपालमा बोलिने १२३ भाषामध्ये डोटेली भाषा दशौँ स्थानमा रहेको तथ्यले यसको सामाजिक आधार र व्यापकता देखाउँछ। यसको ऐतिहासिक जरा गहिरो छ। दैलेखमा भेटिएको १०३८ सालको दमुपाल अभिलेख र डडेल्धुरामा १३६९ सालमा भेटिएको निरपालको ताम्रपत्रले पश्चिम नेपालको प्राचीन भाषिक परम्पराको संकेत गर्छन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका “दिव्य उपदेश” जस्ता ऐतिहासिक सन्दर्भहरूमा पश्चिमेली भाषिक प्रभाव झल्किनु पनि डोटेली भाषाको ऐतिहासिक महत्त्वको प्रमाण हो।
डोटेली भाषा र सांस्कृतिक आधार
डोटेली भाषा सुदूरपश्चिमको सांस्कृतिक जीवनसँग अभिन्न रूपमा जोडिएको छ। देउडा, धमारी, लोकगीत, लोककथा, उखान–टुक्का, चाडपर्वका गीत, विवाहका मंगलधुन—यी सबै डोटेली भाषामै जीवन्त छन् । गाउँघरको चौतारी, मेलापर्वको रमझम, धार्मिक अनुष्ठानको स्वर—सबैमा डोटेली भाषाको आत्मीयता झल्किन्छ। भाषा हरायो भने संस्कृति मौन हुन्छ। संस्कृति मौन भयो भने समुदायको आत्मा कमजोर हुन्छ । त्यसैले डोटेली भाषा जोगाउनु भनेको सुदूरपश्चिमको सांस्कृतिक अस्तित्व जोगाउनु हो।
डोटेली साहित्य स् कृतिहरू र सर्जकहरूको योगदान
डोटेली भाषाको समृद्धिमा विभिन्न कृतिहरू र सर्जकहरूको महत्वपूर्ण योगदान छ।
देवकान्त पन्तद्वारा लिखित “डोटेली लोक साहित्य एक अध्ययन” (२०३२) ले डोटेली लोकपरम्परा र सांस्कृतिक गहिराइलाई व्यवस्थित रूपमा उजागर गरेको छ। पहलमानसिंह स्वाँरको “अछामका चाँडपर्व” (२०३२) ले स्थानीय संस्कार र परम्परालाई दस्तावेजीकरण गर्दै भाषिक चेतनालाई बलियो बनाएको छ। “सेतीको नागबेली”, “सेतीका तारा” र “महाकाली दिग्दर्शन” (२०३४) जस्ता कृतिहरूले सुदूरपश्चिमको सांस्कृतिक र ऐतिहासिक चेतनालाई उजागर गरेका छन्।
डोटेली भाषाको पहिलो महाकाव्यका रूपमा परिचित “बेलु” का रचयिता भक्तबहादुर बलायरले डोटेली साहित्यलाई नयाँ उचाइ दिएका छन्। उहाँकै “देवभूमि डोटी” ले डोटी क्षेत्रको ऐतिहासिक गौरवलाई सशक्त रूपमा प्रस्तुत गरेको छ।
वीरबहादुर चन्दको “डोटेली शब्दभण्डार” ले भाषाको शब्दसम्पदालाई व्यवस्थित गर्दै अध्ययन–अनुसन्धानको आधार तयार गरेको छ। श्रीधर पन्तको “डोटेली व्याकरण” (२०६७) ले भाषाको संरचनागत आधार स्पष्ट पारेको छ। आर. डी. प्रभास चटौतको “डोट्याली बृहत् शब्दकोश” (२०५८) ले डोटेली भाषाको शब्दसंपदालाई व्यापक रूपमा समेटेको छ। प्रा. डा. जयराज पन्तका “अन्जुलीभरी सगुन पोल्टाभरी फाग” तथा “डोटेली धमारी गीत एक अध्ययन” जस्ता कृतिहरूले सांस्कृतिक चेतनालाई गहिराइ दिएका छन्।
पदमराज जोशी भारद्वाजको “कालो पातल”,
कविराज भट्टको “चेला गैग्या कुरा रैग्या”,
पूर्णानन्द भट्टको “डोटेली लोक लहरी”,
केशवदत्त भट्टको “डोटेली उखान” लगायतका कृतिहरूले डोटेली भाषालाई साहित्यिक समृद्धि प्रदान गरेका छन्। यी सबै कृतिहरूले डोटेली भाषालाई बोलिचालीको तहबाट उठाएर अध्ययन, अनुसन्धान र शास्त्रीय विमर्शको तहसम्म पुर्याएका छन्।
समकालीन साहित्यकारहरूको सामूहिक योगदान
डोटेली भाषाको विकासमा अनेकौँ साहित्यकार र चिन्तकहरूको निरन्तर योगदान रहेको छ। डा दुर्गादत्त जोशी, डा रुप खड्का, डा एकराज ओझा, गणेश बहादुर थापा, डा टङ्कप्रसाद ओझा, कृतिचन्द ठाकुर, शेरसिंह भाट, चित्रदेव भट्ट, रण बहादुर रावल, डा महादेव अवस्थी, डा चेतराज पन्त, डा दीर्घसिंह वम, प्रा डा डी पी भण्डारी , जगदीश ओझा, महादेव ओझा, हेमबाबु लेखक, कर्ण दयाल, पुरन दयाल, प्रकाश पैंतोला, वाशुदेव पाण्डे, डा. पुष्करराज, उन्नती चौधरी, तीर्थराज भट्ट, फणेन्द्र साउद, नन्दकृष्ण जोशी, मनोहर परियार, यज्ञराज उपाध्याय, रामलाल जोशी, घनश्याम लेखक, मनीराज जोशी, रतन भण्डारी लगायतका सर्जकहरूले डोटेली भाषाको संरक्षण, प्रवर्द्धन र सामाजिक स्वीकृतिमा उल्लेखनीय भूमिका खेलेका छन्।
त्यसैगरी टोपेन्द्र शाह, प्रा. भोजराज जोशी, टोपेन्द्र शाह, नरेन्द्र भट्ट, देवसिंह धामी, देबेन्द्र दत्त भट्ट, दीपा भट्ट, भुवनेश्वरी पनेरु, श्यामसुन्दर ढकाल, तुलसीप्रसाद पण्डित, गंगा विष्ट, नवराज ओझा, पूर्णबहादुर मल्ल, शैलेन्द्र सिंह, मालती घटाला, माया कोइराला लगाएत सयौँ लेखक तथा साहित्यकारहरुले डोटेली भाषाप्रतिको आत्मीयता र सामाजिक चेतनालाई बलियो बनाउन महत्वपूर्ण योगदान दिएका छन्। यी सबै सर्जकहरूको सामूहिक प्रयासले डोटेली भाषा समाजको मूल प्रवाहसँग जोडिएको छ।
संस्थागत पहल र अभियान
डोटेली भाषालाई संस्थागत रूपमा स्थापित गर्न रेडियो नेपाल, गोरखापत्र संस्थान, विभिन्न एफएम, गुगुल्टी वाङ्मय प्रतिष्ठान, कैलाली जनपुस्तकालय, सुदूरपश्चिम साहित्य समाज, महाकाली साहित्य संगम, स्वराड विकास समाज, प्रशंसा समूह, अछाम वाङ्मय प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, द्वारीकादेवी प्रतिष्ठान, दशरथचन्द प्रतिष्ठान, नेपाली लेखक संघ, प्रगतिशील लेखक संघ, डोटेली साहित्य प्रतिष्ठान लगायतका संस्थाहरूले निरन्तर प्रयास गरिरहेका छन्।
साहित्यिक महोत्सव, गोष्ठी, अन्तरक्रिया र गतिविधिले डोटेली भाषालाई नयाँ पुस्तासम्म पुर्याउने काम गरेका छन् । हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय मातृभाषा दिवसले मातृभाषाको सम्मान र संरक्षणको सन्देश दिन्छ। डोटेली भाषाको सन्दर्भमा यो सन्देश अझ सान्दर्भिक छ।
अन्यमा: डोटेली भाषा जोगाउनु भविष्य जोगाउनु हो। डोटेली भाषा सुदूरपश्चिमको आत्मा हो। यो भाषा इतिहासको निरन्तरता, संस्कृतिको आधार र सामूहिक पहिचानको प्रतीक हो। यदि डोटेली भाषा कमजोर भयो भने सुदूरपश्चिमको सांस्कृतिक स्वर मन्द हुनेछ। त्यसैले घर–परिवारदेखि विद्यालय, साहित्यिक संस्था र राज्यसम्म सबैले मिलेर यसको संरक्षण र प्रवर्द्धनमा लाग्नुपर्छ।
सर्जकहरूको योगदानलाई सम्मान गर्दै, संस्थागत प्रयासलाई सुदृढ गर्दै, नयाँ पुस्तालाई प्रेरित गर्दै डोटेली भाषालाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो। भाषा बाँच्यो भने संस्कृति बाँच्छ । संस्कृति बाँच्छ भने राष्ट्र बाँच्छ। डोटेली भाषा बाँच्नु भनेको सुदूरपश्चिमको आत्मा बाँच्नु हो र त्यो आत्मा जीवित रहिरहेसम्म हाम्रो पहिचान, हाम्रो स्वाभिमान र हाम्रो भविष्य सुरक्षित रहनेछ।
देवेन्द्र दत्त भट्ट
मेलौली, बैतडी